Tuesday, December 27, 2022

मेरो दारीमा ऊ

दार्हि लामा भैसकेका छन। झुस्स परेका. थाहा छैन पछिल्लो पटक कैले हो काटेको पनि, समय बितिसक्यो।
कपाल पनि झरेको झर्यै गर्छ, कोशिस नगरेको होइन रोक्नलाइ तर भन्छन नि केहि कुरा हाम्रो नियन्रणमा हुदैन चाहे त्यो कपाल होस या समय रफतार  एकै छ दुबैको।
समय समयमा समयको कुरा आइरहन्छ। समय यस्तै त छ नि साथी रेडियोमा बजेको भि टेनको गीत जस्तो- मन परे सुनिरहु लाग्ने मन नपरे पनि बदल्न नमिल्ने। आज थोरै समयको कुरा गराैन है?

त्यो समयमा म जम्मा जम्मि ४९ किलो मात्र थिए। ऐना अगाडि उभिएर नियाल्थे म आफैलाइ,मेरो शरिरका हड्डिहरु प्रस्ट देखिन्थे ऐनामा। यदि यो फिल्ड छोडेर म मेडिकल तिर गाको भए के थाहा म आफ्नै शरिरलाइ हेरेर ओस्टियोलोजि पढिरहेको पो हुन्थे कि? थाहा छैन मलाइ। खैर! मेरो कलेज देखि केहि पर मैदान छ एउटा शान्त, सुन्दर र हरियाली मैदान नदि किनारमा। म त्यहि मैदानमा छु ऐले। मेरो शरिर लमतरान्न परेर सतेको छ घाँसमा र हरिरहेछन मेरा आँखाले आकाशमा बादलहरुको बिचित्र नाटक। म कैले काँहि सोच्छू मान्छेहरुलाइ झगड्न  के बादलले सिकायो होला त ?
केहि टुक्रा बादललाइ हावाको झोक्काले क्रमस नजिक ल्याउदै छ। सुस्त सुस्त बगिरहेछ हावा, हावाको सिरेटो मेरो कानमा सुस्तरि केहि भनेर जान्छ। हावाको आवाज अबोध बालक जस्तो छ। मैले धेरै कोशिस गरे बुझ्नलाइ तर खोइ के पो भनेर गयो हावा, फेरि फर्केर आउछ आउदैन।
म फेरि आकाश तर्फ नै हेर्छु ऐले बादलका टुक्रा धेरै नजिक आइसकेका छन। मलाइ थाहा छ अब बादलमा बन्ने छ एउटा आक्रिति र म खोज्ने छु तिमिलाइ बादलको त्यहि आक्रिति भित्र। तिमि फरक पनि त छैनाै नि बादल भन्दा, कति पनि। तिम्रो सुकोमल थीयो अनुहार , तिमि पनि सिपालु थियाै शान्त पार्नलाइ मेरो रिस। यदि आज तिमि यहाँ हुदि हाै  त थाहा छ, मैले तिमिलाइ निक नेम के दिने थिए? - बादल!
के मन पर्दो थियो होला तिमिलाइ मैले दिएको नाम? सायद तिमिले भन्दि हाै - " तिमिलाइ त  निक नेम दिन नि आउदैन उल्लु, केटिको नाम पनि बादल हुन्छ त कहि?"
बरु जून भन न! जून, के म जून जस्तै राम्रि छैन र?  यहि आवाज मेरो कानमा गुन्जियो,
मलाइ लाग्यो तिमि छेवैमा छाै मेरो, तर तिमि त्यहा छैनाै वास्तबिक्ता त्यहि त हो नि।

आकाशमा हावाको बहाब बड्न थाल्यो, नजिएका  बादलका टुक्रा फेरि टाढिन थाले, एक्कासि बादल मडारिन थाल्यो मैले भनेको थिए नि, समय समयमा समय समय यस्तै भैदिन्छ।
बर्सातका केहि थोपा अनुहारमा परिसकेका छन तर पनि यहाँबाट उठन मन छैन मलाइ । केहि जोडि परेवा मेरै माथिबाट उडिरे गए, सायद बर्सात छल्नलाई होला।
यहि बादल र बर्सातको जस्तो थियो नि हाम्रो प्रेम पनि। म कहिल्यै निर्णायक भइन प्रेममा। मन परायौ पनि तिमिले, प्रेम प्रस्ताव गर्यौ पनि तिमिले, र छोडेर गयौ पनि तिमि म बर्सात भएर पछ्याइ रहे तिमि हिडेका पाइलाहरु, तिमिले निर्देशित गरेका दिशाहरुमा हावाले उडाएर लैजाने बादलको  एउटा टुक्रा जस्तै।
यति भनिरहदा मैले तिमिलाई प्रेम गरेकै होइन भन्न् खोजेको होइन। मैले त प्रेम गरेको हो, तिमिलाई देखेको पहिलो दिन देखि नै कलेजको गेटबाट छिरेर ई-रिक्साकोबाट झर्दै गर्दा तिमिलाई देखे पछि एउटा अप्रत्यासित जस्तो आफ्नोपना महशुस गरेकै हो। ती गर्मिका दिनमा चिसो हावाले छोएर जादा दिने सितलता जस्तो, वा धेरै पछि तिमिले र मैले एउटै प्लेटबाट खाने देउरालीको विर्यानीले दिने आनन्द जस्तो।
कलेजको पहिलो दिन भाग्यवस भनौ वा दुर्भाग्यवस भनौ तिमि म बसेकै बेन्चको दायाँ पट्टिको सिटमा आएर बस्यौ। आफुले मन पराएको मान्छे नजिकै बस्दा एकदमै असजिलो महशुस हुदो रहेछ मेरो जिन्दगीको नयाँ अनुभव थियो त्यो।
रुररल सोसियोलोजीको क्लास थियो त्यो, सरले नबुजिदो लवजमा समाजमा हुने बिहेका प्रकार पढाइरहदा तिमि ठुलो ठुलो स्वरले सरको हो मा हो थपिरहेकि थियौ। थाहा छैन त्यो बखत के पो चलेको थियो तिम्रो मस्तिस्कमा मैले चाहिँ सोचेको थिए तिमि र म बिहेको जग्यमा तिमि मेरै दाहिने तर्फ बसेको। त्यो दिन २ पटक सम्म मलाई छोइरहने  तिम्रो बाहिने हातको कुइनोको खुब सम्झना आउछ मलाइ, दोस्रो पटकमा तिमिले भनेकि थियौ "सरि है झुक्केर लाग्यो" डोन्ट माइन्ड 'इट्स ओके' मैले भनेको थिए। कस्तो मजाकिलो दुर्भाग्य पुर्ण सम्योग यो हाम्रो जिन्दगीको पहिलो  र अन्तिम कुरा सरिबाट सुरु भएर सरिमा नै अन्त्य भयो।

अर्को दिन हर्टिकल्चरको पहिलो क्लासमा सबै जनाको परिचय भयो। त्यो दिन तिमि म भन्दा अघिल्लो बेन्चमा थियौ। तिम्रो परिचय पछि मैले परिचय दिए, त्यो क्लास यसै सकियो त्यो दिन तिम्रो नाम थाहा भयो मलाई तिमिले मेरो कुरा के कति सुन्यौ मलाई थाहा छैन। त्यहि दिउसो क्यान्टिनमा पनि भेट भयो तिमिसङ कलेजको सानो सङ्सारमा हामी ठोकिने बाटोहरु, ति घुम्तिहरु जता जतै थिए। हामी पनि केहि कुराको प्रवाह नगरि स्वत्नत्र नदि झै बग्दै हिडिरह्यौ मोदहरुमा, किनाराहरुमा तिमि र म नजिक हुनुको पनि एउटा अनौठो छ कहानी खोइ किन हो यहाँ लेखिरहन मन छैन। 
ती पुराना दिनहरु फर्केर हेर्दा  म आज बाँचेको जिन्दगी निरस लाग्छ तर अब बास्तबिक्तामा बाँच्नुको विकल्प पनि त छैन नी। कालान्तरमा भविष्य सोच्ने मैले त्यो प्रेमको भविष्यको बारेमा किन केहि सोचिन होला? तिमिसङ् किन कहिल्य केहि भनिन होला भन्ने लाग्छ मलाई। देशको  राजधानीमा हुर्केको तिमि, मेरो लागि सबै कुरामा पर्फेक्ट मान्छे  तिमि सायद मलाई कहिल्य लागेन होला एकदिन छुट्टिनु पनि पर्छ। मलाई लागिरहन्छ प्रायः सबै कुरामा तिमि भन्दा अव्बल कहिल्य पनि हुन नसक्ने मान्छे म, तिमिले म'मा के देखेर मन परायौ होला?
तिमिलाई देख्न पाउदिन आज म र पनि त्यो बेलाको तिम्रो आँखाबाट मलाई म' हेर्न मन छ।


Friday, February 25, 2022

सामान्य सपनाहरु

यो कस्तो जिन्दगी हाम्रो जहाँ सपना पनि सपना जस्तो देख्न सकिँदैन।

सपनाहरु यहाँ बिपना जस्ता छ्न। परिस्थिले, समयले अनि जिम्मेवारीले थिचेर बनाएको लेप जस्तो आखामा आएर टासिदिन्छन सपना यहाँ । हरेक पटक कसैले मेरो उद्देश्य के हो? मलाइ जिन्दगीमा के गर्नु छ भनेर सोध्यो भने कति पनि नहिच्किचाइ दुइटा मात्र कुरा आउँछन 'यार जिन्दगीमा एउटा गतिलो घर बनाउन पाए, बा आमालाई प्लेनमा चडाएर निर्धक्क काठमाडौ वा पोखरा यस्तै कुनै ठाउँ घुमाउन पाए " मलाइ लाग्छ यी सपना मेरा मात्र हैनन म जस्तै मद्यम बर्गमा जन्मिएका खाली खुट्टा माटोमा धसारेर हिडेका धेरै युवाको सपना हो। मलाइ थाहा छ यो। कति सस्ता छ्न हाम्रा सपनाहरु जुन पैसाले किन्न सकिन्छ। कति घातक छन हाम्रा सपनाहरु जसलाइ पूरा गर्न यो जिन्दगी हासी हासी फालिदिन सक्छौ हामी चाहे त्यो खाडीको तातो घाममा होस वा जम्बु कस्मिर तिरको चिसो हिउँ मा लड्दा लड्दै होस। साना सपनाको अघि यो ठूलो जिन्दगी पनि केही नहुदो रहेछ। तर यी सपनाहरु सजिलै कसैको अगाडि भन्न सकिँदैन। यो कस्तो विवस्ता होला हाम्रो। अनि म सजिलै झुट बोलिदिन्छु । तर बास्तबिकता यहि हो हाम्रो, आजका अधिकास युवाको सपना भनेकै जाबो एउटा घर बनाउनु छ अनि कसरी हुन्छ समाजको रुपान्तरण कसरी होला यो देशको बिकास। यहि सपनाको भारी बोकेर गरिब युवा खाडिमा हिड्छ्न अलिधनी अस्ट्रेलिया, युरोप, क्यानडा र अमेरिका। यो देश यसै रित्तिएको हैन। ड्राइभरले गाडी रोक्छ। म सोच्मग्न मुन्द्रा देखि अलि बाहिरिन्छु। पिसाबले च्यापेको छ एकदमै। गाडिको कोलियामा झर्ने यात्रुको भिड छ। म त्यही भिड्मा अलि अलि च्यापिदै अलि अलि पिसिदै ढोकाबाट बाहिर निस्कन्छु। 

मेरो जिन्दगीले मलाइ च्यापिन अभ्यस्त बनाएको छ। गाडी लामो समयको लागि रोकियो, सायद खाना खान होला। नेपालमा बसमा यात्रा गर्दा मेरो एउटा नियम छ 'कसैले फ्री मा ख्वाए पनि खाना (भात) नखाने" सायद जिन्दगीमा मैले इमानदारीता पुर्वक मानेको नियम यहि एउटा हो। यात्रुहरु खाना खान थाले म छेउको पसलमा पसेर एक कप चिया भने अनि एउटा चिसो बेन्चमा बसेर चिया पर्खिरहे। एकछिनमा चिया आयो। मैले चियाको कप तिर हेरे अनि चिया ल्याउने साउनीको अनुहारमा हेरे दुबै उस्तै लाग्यो। त्यो चिया हेर्दै नमिठो थियो। एलदम सेतो मानौ साहुनीले आफुले लगाएको अलिकति पाउठरको धुलो हालेर ल्याएकी हुन। चिया पकाउनु एउटा कला हो। चिया पकाउन एकदम सजिलो छ तर मीठो चिया पकाउन एकदम गाह्रो। चिया पकाउनु र केटि फकाउनु उस्तै हो भन्छ्न दुबै कुरामा धैर्यता चाहिन्छ। 

खैर! पैसा तिरेर किनेको चिया नखाइ यसै छोड्न पनि मनले मानेन फेरि राती भोक लाग्ला कि भन्ने पिर। धादिङको जाडो उस्तै त्रिशुलीको सिरेटो उस्तै। मैले चिया पिउन सुरु गरे। बाहिर चिसो छ। बरु बस भित्रै गएर बस्ने निर्णय गरे। सिटमा यसै पल्टिरहदा प्यास लागे जस्तो भयो झोलाबाट पानीको बोतल झिकेर पिउदै गर्दा अलिकती पानी छातीको बाहिने पट्टि पोखियो छाला झन चिसो भयो अनि दिमागमा एउटा पुरानो घटनाको याद आयो जुन यसप्रकार थियो: SLC दिएर प्लस टु पढ्दा मलाइ एकजना केटि खुब मन पर्थिन तर हाम्रो फ्याक्ल्टी फरक थियो। फ्याक्ल्टी फरक भए पछि बिल्डिङ पनि फरक उस्तो देख्नै गाह्रो हुने। उसको बिल्डिङ तिर रसायन बिज्ञानको ल्याब थियो हप्तामा एक पटक ल्याब जादा यहि उनिहरुको छिटो छुट्टी नभएको भए उसलाइ देखिने त्यही ५% चान्स हुन्थ्यो। त्यही पनि मेरो लागि ठूलो थियो। म गाउँ बाट पहिलो पट्क बजार पढ्न गएको बजारका स्कुल कलेजको खासै मेसो थिएन सुरुमा पछि यसो बुझ्दै जादा तेस्रो घन्टी पछि ५ मिनेट जतिको ब्रेक हुने रहेछ कलेजमा त्यही समयमा पानी पिउन जाने ट्यवाइलेट जाने गर्दा रहेछ्न सबै जना। एकदिन साथीले पानी पिउन जाम भनेर कर गर्यो मैले पनि हुन्छ नि त जाउ भनेर धारामा जादा त्यो केटिसङ धारामा भेट भयो। त्यस पछि देखि करिब एक महिना जति त्यो समयमा म निरन्तर धारामा पानी पिउने निहुमा जान थाले। उ प्राय उसको साथीसङै आउथी मलाइ केही भन्ने वा बोल्ने हिम्मत थिएन बस उसलाइ लुकेर हेर्थे अनि आफ्नै कक्षा फर्कन्थे। नेपालगन्ज गर्मीको मौसम, एकदिन उसले आफ्नो साथीलाइ छ्याप्छु भनेर फालेको एक अन्जुली पानी झुक्किएर मेरो बाहिने छातीमा आएर पोखियो। सब जना गल्ल हासे म लाजले रातो पिरो भए। उ अलिकती ग्लानी मान्दै हासी र त्यो दिन उसको नाम थाहा पाए मैले। त्यो पानीको शितलता आज फेरि मैले मेरो छातीमा महसुस गरे। केही पलहरु जिन्दगीभर याद आइरहन्छन भलै त्यो मान्छे याद आओस न आओस ........................................................

Thursday, December 30, 2021

यहाँ

छोडिँदै गइदो रहेछ बिस्तारै जिन्दगी।

जसरी छाडेर जान्छ
खोलाले आफ्नै छालहरु
मयुरले आफ्नै चालहरु।
जसरी छाडेर जान्छ एक परदेशिले
भर्खर जन्मिएकि आफ्नी सानी छोरी
यदि छोडेर नै जानु छ भने त
किन गर्नु प्रेम
किन गर्नु यी यावत दुखहरु
सायद छोडेर जानू त्यति सजिलो पनि हुदैन क्यारे
निदाएको आँखा बिउझिए जस्तो।

Tuesday, December 28, 2021

तारा!

कसरी सम्झाउ म तिमिलाइ

के भनेर बुझाउ म तिमिलाइ
म आफै पनि बाटो भड्किएको ढुङा हुँ।

म खसिरहदा तिम्रो आकाशमा
तिमिले मागेकी थियौ- आफुलाइ मन पर्ने मान्छे।
अब कसरी पुर्याउ तिम्रा चाहनाहरु?
म आफैले पनि त मलाइ मन पर्ने मान्छे उतै छोडेर आएको हुँ।

Friday, October 29, 2021

सवाल

सुर्यमुखिले सुर्यलाइ पछ्याए जस्तै

जिन्दगीभर कहाँ पछ्याउन सकिएला र तिमिलाइ 
बरु म तिम्रै छेउमा गुलाब बनेर फुलिदिउला। 
या त तिमी फुल्ने गमला बनिदिउला! 
ढकमक्क फुलिरहनु तिमी म तिम्रो भार सहिरहुला। 

अथवा म हावा बनेर
तिमिलाइ पछ्याइरहुला
तिम्रा कोशिका भरी फिजारिएर 
तिम्रो मुटुबाट सन्चालित भएर 
म पुगुला तिम्रो शरीर भरी 
वा तिमिलाइ शितलता दिन बहिरहुला तिम्रै वरिपरि म! 

अथवा कलकल बग्ने पानी बनेर
तिमि फुल्ने खेतबारि भिजाइदिउला 
तिमिले बोक्ने गाग्री भरिदिउला 
तिमिले पिउने चियाको रङ फिजाइदिउला 
तिमिले भन्छौ भने। 

अथवा तिमिलाइ प्रेम गरिरहने 
म प्रेमी बनेर हटाइरहुला बाधा अड्चन 
थपिरहुला खुसिका पल 
प्रेमको बर्सात बनेर 
भिजाइरहुला तिम्रो मन 
बनेर फूल गुलाबको सिउरिरहुला तिम्रो केशमा
वा बनेर तिम्रै प्रेमी सुन्दर बनाउला यो जिन्दगी।

Sunday, October 17, 2021

फोटो

 हाम्री आमाको अनुसार फोटो खिच्दा हासेको राम्रो फोटो हैन रे,  फोटो खिच्दा गमक्क भएर बस्नु पर्छ रे, त्यसैले आमाले हासेका १/२ वटा क्यान्डिड फोटो बाहेक अरु फोटोमा हासेको देखिदैन।

हुन त आमाका फोटोहरु नै कती होलान र ? गनेरै भन्ने हो भने एक दर्जन जति होलान - केही थान एल्बममा केहि मेरो मोबाइ फोनमा।

आमाको बिहे हुदा क्यामेराको उस्तो चलन थिएन, भए पनि आजको जस्तो थिएन, फोटो खिच्ने भनेकै नागरिकता बनाउदा बेलाको व्लायाक एन्ड ह्वाइट फोटो हो। त्यसैले आमा-वा को बिहेको फोटो पनि छैन एल्बममा। हेर्नुस त प्रबिधिले मान्छेका सम्झनमा पनि असर गर्दो रहेछ।

एल्वममा भएको आमाको र मेरो एउटा फोटो छ म एक-दुइ बर्ष तिरको हुदा होला। अर्को केही बर्ष अगाडी डिजिटल क्यामेरा आइसके पछि बा-आमाको फोटो छ। जुन आमाले ठूलो बनाएर भित्तामा अड्याइनु भएको छ।  आमा-बा को त्यही फोटो सङै जिल्ला शिक्षा कार्यलयले मलाई दिएको एउटा सम्मान पत्र पनि  झुन्डिएको छ भित्तामा। त्यसको लगत्तै मामाघरको मेरा बाजे ए बज्यैको एक प्रती फोटो छ भित्तामा। बाकी भित्ता सबै खाली छ आमाको फोटो एल्बमको जस्तै।

कहिले काहीँ सोच्छु म, मान्छेलाइ फोटोको आवश्यकता के के कारणले पर्छ होला है? जस्तो कि बिर्सन लागेका यादहरु फेरि ताजा गर्न, देश बिदेशका कुराहरु हेर्न वा आफुलाइ मन परेको मान्छे आफ्नो नजिकको अर्को मान्छेलाइ चिनाउन वा देखाउन, यस्तै यस्तै त होला नि?

अस्ति आमाले कुपिन्डे दह घुम्न जान मन छ भन्नू भयो।  खोइ कस्ले पो हो आमालाइ कुपिन्डे दहको बखान गर्नु भएको रहेछ, सौभाग्यवस केही साल अगाडी तिमी र म पनि पुगेका थियौ त्यहाँ, मैले मोबाइलमा त्यही दहको फोटो देखाए, फोटोको अन्तिम अन्तिम तिर तिम्रो र मेरो सङै उभिएको फोटो पनि रहेछ।

त्यो फोटो आमाले देख्नु भयो र म तिर को हो? को भावले हेर्नु भो।

मैले पनि तिम्रो बारेमा भनिदिए। अनि संयोग हेर न तिमी त्यो फोटोमा गमक्क भएर बसेकी रहिछौ, आमालाइ त्यो फोटो मन पर्यो अरे, एकछिन तिम्रो लागि तारिफको पुल बाध्नु भयो।

त्यस पछि मैले तिम्रो अरु अरु फोटो पनि देखाइदिए आमालाइ तिम्रो त्यो सारी लाएको फोटो हिजो देखि आमाको फेबरेट फोटो भएको छ।

आज आमासँग कोदो टिप्न गएको थिए म। आमाले फेरि तिम्रो कुरा झिक्नु भयो, को हो? कसकी छोरी ? घर कहाँ ? के गर्छे आदि आदि। मैले पनि केही केही कुराको जबाफ दिए, कुनै बेला कोहि केटिको नाम म सङ जोडिदा रिसाउने आमा आजकल खुब चासो दिन थाल्नु भएको छ। सायद उमेरको प्रभाव होला। 


हिजो दशैको दिन टिका लगाउदा सबले के के भनेर आशिर्वाद दिए मलाइ, तिमिलाइ पनि दिए होलान। हाम्रो परिवारको जेठो छोरा होस अब पढेर मात्र हुन्न, बिहे गर्नु पर्यो भनेर सबले जिस्काए, म बाहिर बाहिर लजाए मन मनमा मख्ख परे जे होस मनको भावना मन भित्रै राख्ने सफल भए। तर तिमिलाइ पनि खुब सम्झिए नि मैले, तिमिलाइ बाडुल्की लाग्यो होला कि नाइ तिमिले भनिनौ।

बिहे क्या अनौठो सम्बन्ध हुदो हो जस्तै लाग्ने है, जिन्दगीमा एक पटकको अनुभव होला है यो त? तिन-चार पटक बिहे गर्नेहरुले पहिलो पटक झै महशुस हरेक पटक गर्छन होला कि नाइ खोइ कहिले कहिले यस्तै कुरा सोचिबस्छु म। 

आमाका आजकल केही चेक लिस्टहरु छन। जस्तो कि एकपटक बा-सङ कासी धाम दर्शन गरेर गङ्गा नदिमा नुहाउने, एक पटक प्लेन चढेर काठमाडौ गइ पशुपति दर्शन गर्ने र चिडियाखाना घुम्ने, एकपटक पोखराको फेवातालमा ढुङ्गामा चढ्ने आदि आदि अब आमाको एउटा अर्को सपना थपिएको छ, जेठी बुहारी सङै फोटो खिचेर त्यसको फ्रेमिङ गरेर आफ्नो फोटो नजिकै भित्तामा झुम्ड्याउने, अब आमाका यी सपनाहरू पूरा गर्न मेरै काधमा छ।

भन अब आमासङै फोटो खिच्न कैले आउने हो तिमी?

Saturday, July 31, 2021

खोइ के जिन्दगी

कैले काहीँ साझको ८ बजे आमालाई फोन गर्दा आमा निदाइसक्नु भएको हुन्थ्यो। 
यी र यस्तै प्राय दिनहरुमा मलाइ रातको १२/१ बजे सम्म पनि फिटिक्क निद्रा लाग्दैन थियो। 
आमाको दिन भरिको श्रमले लखतरान हुनुहुन्छ, निदाउनु हुन्छ।मलाइ पनि खुब शरम लाग्छ, निदाउन सक्दिन।जिन्दगीमा धेरै दुख लाग्दा दिनहरु देखियो र अझै देखिदै पनि छ केही रमाइला दिनहरु पनि छ्न सम्झनामा तर हुनु पर्ने यस्तो हो कि हामीले दुखमा दिनहरु बिर्सदै जाने सुखका दिनहरु सधै याद भइरहने यी कुरामा हाम्रो मस्तिष्क अलि फरक चल्छ। आमालाइ फोन गर्दा प्राय अलिक लामो समय कुरा हुन्छ, आज सम्मको आमासङ कुरा भएको लामो समय भनेको करिब ३५ मिनेट जति होला, आमाले फोनमा मेरो बारेमा कम सोध्नु हुन्छ आफ्नो बारेमा कम बताउनु हुन्छ गाउँ घर र अरु अरु कुरा धेरै हुन्छ्न हाम्रा, यसको बिपरित बा सङको लामो समय कुरा भएको रेकर्ड करिब १ मिनेट ४५ सेकेन्ड छ। बा'ले सोध्ने प्राय फिक्स प्रश्न छ्न जस्तो कि "बाबू का छ्स?", "खाना खाइस?" "अरु सबै त ठिक छ?" ल आफ्नो ख्याल गर्नु र कतै हिड्न लागेको छु भने " ल राम्रोसङ जानू?" मैले पनि यजन अनुसार जवाफ दिन्छु। 
हाम्रो बा पहिल्यै देखि खासै धेरै नबोल्ने मान्छे, मैले जाने सम्म कैले काहीँ सानो तिनो कलह पर्दा आमाले गाली गरे पनि बिरलै जबाफ फर्काउनु भयो होला, मेरा बा शान्त बा हुनु हुन्छ। धानको बेर्ना राख्नु अघि बिउलाइ मज्जासङ भिजाउने चलन हुन्छ। बीउ भिजाउदा उत्रेको बिउलाइ आमाले निकाले फाल्दिनु हुन्थ्यो, अनि एकदिन बीउ भिजाए पछि पानी तर्काएर बिउलाइ गुम्म ठाउमा एउटा टालोमा बेरेर राख्नु हुन्थ्यो, १/२ दिनमा हेर्दा बीउ अलि अलि टुसाएको हुन्थ्यो अनि त्यही बीउ लेर बा ले ब्याडमा छर्नु हुन्थ्यो। मैले जिन्दगीको धेरै पछि आएर थाहा पाए कि यसलाइ प्राइमिङ भनिदो रहेछ तर पनि यसको विधि सानैमा देखेको थिए। सानोमा असारको महिना रोपाइ गर्दा होस वा मकै छर्ने बेला म प्राय बा'सङै खेतमा जान्थे। 
खेतमा खासै काम गर्ने त होइन म तर पनि माटोसङ हिलो सङ खेल्न मज्जा लाग्थ्यो। बा'ले खेतको आलि लगाउदै गर्दा म छुट्टै सानो जमिनमा आलि लगाएर पातीको मुन्टा टिपेर रोपाइ गरिरहेको हुन्थे। कैले काहीँ कुनै कुनै मुन्टाहरु जागेका हुन्थे मैले Soft wood cutting त्यसरी सिकेको थिए। खेत रोप्ने दिनमा मेरो जिम्मा प्राय कि त गोरु लिएर खेतमा बिहानै जाने वा दिउसोको ३ बजे तिर खेतालाको लागि अर्नि(खाजा) लिएर जाने हुन्थ्यो। 
खेतमा बुबाले हिल्याउने काम गर्नु हुन्थ्यो मैले चाहिँ कतै पानीको कुलो भाचियो भने कुलो ढल्काउन जाने वा सानो सानो आलि लगाउने, रोप्नेरीलाई बिउ पुर्याउने वा पिउने पानी बोक्ने काम हुन्थ्यो। खेत रोपाइ अलि ढिलो अगाडि बढ्यो भने कैले काहीँ बा आफै रोप्न सकिनु हुन्थ्यो, बुबा ले यति छिटो धान रोप्नु हुन्थ्यो कि उस्तै रोप्ने महिलाहरु चकित खान्थे। मकै छर्ने बेलामा बुबा अगाडि जोत्नु हुन्थ्यो म त्यही जोतेको रेखामा पछि पछि एउटा एउटा दाना मकै खसालेर हिड्थे। मेरा उमेरका प्राय साथिहरु त्यो उमेरमा गोरु जोत्ने भैसकेका थिए तर खोइ किन हो मैले सक्दिन थिए तर मकै छरेर सके पछि भने पाटो सम्याउनु पर्थ्यो त्यो बेलामा लिर्को माथी बस्न खुब मज्जा आउथ्यो। 
आज बा आमा देखि यति धेरै टाढा बसेर यी सब कुरा लेखिरहेको छु, हलो जोत्ने, खेत रोप्ने मेरा बा आमा त्यही गाउँमा हुनुहुन्छ। आमाले सानोमा मैले खेतमा जान्छु भनेर जिद्दी गर्दा भन्नू हुन्थ्यो 'ठूलो भएर खेतमा काम गर्न सक्ने हुदा टाढा टाढा भाग्छ्स होला ऐले खेत जान्छु भनेर धेरै ढिपी नगर त' आजकल मैले हरेक असारमा हिमाल्य खेत देख्दा आमाको त्यो वचन समझन्छु, म आफूलाई एकदमै शक्तिहिन महसुस गर्छु। 
मान्छे कम्जोर कति बेला हुन्छ, उ गरिब भएर एक पैसा नहुदा पनि होइन, उ रोगले थलिएर उठ्नै नसक्दा पनि होइन, उ भोको पेट्मा रातभर छ्टपटिदा पनि होइन, मान्छे तब कम्जोर हुन्छ जब उसलाई थाहा छ कि उसका बा आमालाई तिमि चाहिएको छ र चाहेर पनि तिमी सङै हुन सक्दैनौ। बा'ले काठको काम पनि गर्नु हुन्छ। 
कुनै बेलाको वरिपरिको चार गाउँमा सब भन्दा राम्रो काठको काम मेरो बा ले गर्नु हुन्थ्यो। बा ले ढोका, झ्याल, टेबल, खाट बनाइरहदा त्यहाँ बाट बचेको काठको म गाडी बनाएर खेल्थे। त्यो बेला मैले गाडी भनेको किताबमा मात्र देखेको थिए त्यो पनि चार क्लासबाट वल्ल अङ्ग्रेजी पढाइ हुन्थ्यो सरसङ बर्णमालाको एउटा किताब थियो, सरले बि फर 'बस' भनेत पढाउने बेला ' इ हेर यस्तो हुन्छ बस' भनेर चित्र देखाउनु भएको थियो। हाम्रो लागि बस देख्नु त सपना थियो। 
स्याउलाको भारी बोकेर पैसा कमाउन भारत जाने कतिपय गाउँ का अङ्कलहरुले बसको किस्सा सुनाउथे। हामी खुब चाख दिएर सुन्थेउ पनि। हामी ५ क्लासमा पढदा एकजना साथी आफ्नो बा'सङ भारत गएर आयो, उसले बस पनि चढ्यो। ऊ स्कुल आए पछि करिब एक महिना जति १ बजे पछि हामी उसलाइ घेरेर चौरमा बसि भारत र बसको किस्सा सुन्न थालेउ। उसले उताबाट आउदा एउटा रङिन प्रीन्ट भाको अङ्ग्रेजी स्कुलको किताब लेराको रैछ। त्यसमा बस, साइकल, मोटरसाइकल, हवाइजहाज सबैको फोटो थियो, मलाइ त्यो किताब प्रती यती मोह लाग्यो कि मैले मामाघरबाट फर्किदा कान्छो मामाले दिएको एक रुप्पेमा त्यो किताब किनेको थिए।
अत, म भन्दै थिए। एकदिन बा सङ जिद्दी गरेर एउटा काठको चर्खाको पाङ्रो बनाउन लगाएर, अनि त्यसमा बिचको प्वालबाट एउटा लौरी हालेर दुइबटा बासको पोल काटेर त्यसको बिचमा त्यो पाङ्रो जोडेर हामी साथिहरुले गाउमा पहिलो गाडिको निर्माण गर्यौ। त्यस पछि अरु पनि १/२ जना साथिहरुले त्यस्तै प्रकारको गाडी बनाए तर गाउँको रोडमा ढुङ्गा धेरै हुने हुनाले गाडी चलाउन गार्‍हो पर्यो। त्यस पछि सुरु भए हाम्रो रोड निर्माण कार्यक्रम हामिले चौतारो देखि न्याउलिपतल सम्म करिब ३/४ समय मिटर बाटोको ढुङ्गा साइड लाएर गाडी चल्न मिल्ने सम्म बनाइयो।
गाउँमा पानीको समस्या थियो, गाउभरिबाट पानी लिन जाने भनेकै त्यही न्याउलिपातल थियो, हरेक साझ हामिहरु ग्यालन गाडिमा झुन्ड्याएर ३-४ खेप पानी ओसार पसार गर्थ्यौ। मैले जिन्दगीको इन्जिनियरिङ त्यहाबाट सिकेको हु।


कुन चै मुड चलेर हो मैले यति लेखेको थिए, अनि खोइ यो भन्दा अगाडि लेख्न मन लागेन वा मेरो मुड के भयो। फेरि कुनै दिन मुड चलेछ भने फेरि लेखौला मेरो जिन्दगी। अहिलेलाई
ईति

Monday, January 11, 2021

कविता

 म जुन हु तिम्रो

सङ्सारको कुनै कुनामा जाउ तिमी
म पछ्याउँदै आउला तिमिलाइ

आफ्नो बरण्डा देखि हेर तिमी
वा रातिको लामो दुरिमा
गाडिको झ्यालबाट हेर
म त्यही हुने छु तिम्रो माथी
बनेर सितको थोपा
बर्षिरहेको हुनेछु।

तिमि सोधौले अरे!
म रातिमा मात्र किने देखिन्छु भनेर
अँध्यारो रात, तिम्रा नराम्रो दिनहरु हुन
असफलता मिलेको बेला
जिन्दगीले पिरोलेको बेला
म त्यही हुनेछु तिमिलाइ वाटो देखाउन
म शीत वनेर तिम्रो आँसु रोइरहेको हुनेछ।
- २०७७/९/२२ 

Tuesday, September 29, 2020

यति मात्र त हो
मेरो मुटुको गति
यति मात्र त हो
मेरो जिबनको प्रगति
यहि कहि सम्म छ
मेरो जिबनको यात्रा
यहि कहि धडकन्छ
मेरो मुटुको धड्कन।
तिमी छौ
तिम्रो साथ छ।
यहि त हो
मेरो जिन्दगी भन्नू पनि।

Saturday, August 15, 2020

मन



मन
यो मनको के कुरा गरौ 
यो मन चन्चले छ। 
जसरी चन्चल छ्न 
तिम्रा आखाहरु 
जसरी चन्चल छ्न 
ती आखामा बस्ने मेरा रहरहरु। 

मन यो मनको के कुरा गरौ र? 
यो मन बिकाउ छ 
जसरी बिकाउछ्न 
तिम्रा रातो लिपिस्टिक लाएका ओठहरु 
अनि बिकाउछ मेरो मन 
तिम्रा ओठहरुका लागि। 
मन
यो मनको के कुरा गरौ र? 
पृथ्वी राजमार्गको सड्क बत्ती जस्तो छ
यो मन कहिले सप्रीन्छ 
कहिले बिग्रन्छ 
मलाइ केही थाहा हुदैन 
जेब्राक्रसिङ्को रातो बत्ती जस्तो मन
तिमिलाइ बेला वेलामा 
ग्रीन सिग्नल दिइरहन्छ मन

सन्देश

  साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...