कबिता

लाहुर
उसको नाम रामकृपाल रे!
सुर्खेतबाट गाडिमा जादा भेटेको उसलाइ।
पातलो थियो उसको शरीर
सायद गरिबिले रगत चुसेको होला!
उसको पातलो शरिरमा थियो
काखि देखि तलसम्म च्यातिएको एउटा रातो सर्ट
मैले झन्डा सम्झिए मेरो देशको - रातो झन्डा
एउटा मैलो, थोत्रो झोला
काखि च्यापेको थियो उसले
सायद यो दशैलाइ खुसी बोकेर ल्याएको होला।
उसको नाम- रामकृपाल
उमेर - १९ वर्ष
घर - जाजरकोटको खोइ कुन ठाउँ भनेको थियो बिर्सिए।
बिबाहित उ
पढाइ - ७ क्लास सम्म पढेको।
उ तीन महिना अघि लाहुर गएको रे
धन कमाउनलाइ, दशै मनाउनलाइ
भन्थ्यो नेपालगन्जबाट घरका सबैलाइ कपडा किनेर ल्याएको छु।
यो दशैमा सबले नया लुगा लाउने अब।
उसले किन्यो होला सायद रातो साडी
आफ्नी श्रीमतिको लागि
बरु, केहि किन्यो किनेन उसले आफ्नो लागि?
साह्रै पढ्न थियो दाइ
घरमा वा आमालाइ हेर्ने कोहि नभएर बिहे गरेको
ऐले परिवार पाल्न इन्डिया गएर पैसा कमाउछु
उसले भावुक भएर भनेको थियो।
श्रीमतिको उमेर १७ वर्ष।
यो उमेरमा कतिपय केटाकेटीले आफुलाइ धान्न सक्दैनन
उसले ५ जनाको परिवार धानेकी छ।
उसले मख्ख पर्दै भनेको थियो
लब म्यारिज गरेको दाइ
मलाइ रामरी थाहा छ- उसको 'लव' शब्दको अर्थ के हो भनेर
उसले स्याउका भारी बोकेर
घासका भारी काटेर
यो दशै तिहार मनाउने पैसा ल्याएर आएको छ।
दशैमा एकछाक मासु खाने छ
तिहारमा दिदी बैनिलाइ दक्षिणा दिने छ
रोगी वा'लाई केही ट्याबलेट किन्ने छ।
अनि
तिहारको अर्को दिन
उ फेरि लाहुर हिड्ने छ।
फेरि उचाल्ने छ स्याउका भारी
अनि उचाल्ने छ जिम्मेवारीको भारी
उसलाई घासको भारिले भन्दा धेरै
जिम्मेवारीको भारिले थिचेको छ।
उ प्याज काटदा बरु कहिले रुदैन!
हरेक रात उ घर सम्झेर रुन्छ।
बरु हरेक दशै तिहारमा
रामकृपाल आफ्नो गाउँ फर्कन्छ।
तर हाम्रो आशा किनेर काठमाडौ गएका नेताले
कहिल्य आफ्नो गाउँ फर्कन जानेन।
                    - दैलेख
(यो कबिता होइन, यो बास्तबिकता हो। जून हरेक  मान्छेले बोकेको छ, कुनै दिन नेपालगन्ज देखि कर्णाली, भेरी तिरका ठाउँमा गाडिमा जादा कुनै उज्यालो अनुहारलाई सोधेर हेर्नू। यो कथा हरेक नेपालिको हो केबल ती मान्छेको होइन जसले समृद्धि दिने नाउमा हाम्रा सपनाहरु किनेका छ्न।)

Comments

Popular posts from this blog

पुनु तिमिलाई शुभकामना!

कबिता- चिया प्रेम

सिन्दुर नलगाउ है