Saturday, July 31, 2021

खोइ के जिन्दगी

कैले काहीँ साझको ८ बजे आमालाई फोन गर्दा आमा निदाइसक्नु भएको हुन्थ्यो। 
यी र यस्तै प्राय दिनहरुमा मलाइ रातको १२/१ बजे सम्म पनि फिटिक्क निद्रा लाग्दैन थियो। 
आमाको दिन भरिको श्रमले लखतरान हुनुहुन्छ, निदाउनु हुन्छ।मलाइ पनि खुब शरम लाग्छ, निदाउन सक्दिन।जिन्दगीमा धेरै दुख लाग्दा दिनहरु देखियो र अझै देखिदै पनि छ केही रमाइला दिनहरु पनि छ्न सम्झनामा तर हुनु पर्ने यस्तो हो कि हामीले दुखमा दिनहरु बिर्सदै जाने सुखका दिनहरु सधै याद भइरहने यी कुरामा हाम्रो मस्तिष्क अलि फरक चल्छ। आमालाइ फोन गर्दा प्राय अलिक लामो समय कुरा हुन्छ, आज सम्मको आमासङ कुरा भएको लामो समय भनेको करिब ३५ मिनेट जति होला, आमाले फोनमा मेरो बारेमा कम सोध्नु हुन्छ आफ्नो बारेमा कम बताउनु हुन्छ गाउँ घर र अरु अरु कुरा धेरै हुन्छ्न हाम्रा, यसको बिपरित बा सङको लामो समय कुरा भएको रेकर्ड करिब १ मिनेट ४५ सेकेन्ड छ। बा'ले सोध्ने प्राय फिक्स प्रश्न छ्न जस्तो कि "बाबू का छ्स?", "खाना खाइस?" "अरु सबै त ठिक छ?" ल आफ्नो ख्याल गर्नु र कतै हिड्न लागेको छु भने " ल राम्रोसङ जानू?" मैले पनि यजन अनुसार जवाफ दिन्छु। 
हाम्रो बा पहिल्यै देखि खासै धेरै नबोल्ने मान्छे, मैले जाने सम्म कैले काहीँ सानो तिनो कलह पर्दा आमाले गाली गरे पनि बिरलै जबाफ फर्काउनु भयो होला, मेरा बा शान्त बा हुनु हुन्छ। धानको बेर्ना राख्नु अघि बिउलाइ मज्जासङ भिजाउने चलन हुन्छ। बीउ भिजाउदा उत्रेको बिउलाइ आमाले निकाले फाल्दिनु हुन्थ्यो, अनि एकदिन बीउ भिजाए पछि पानी तर्काएर बिउलाइ गुम्म ठाउमा एउटा टालोमा बेरेर राख्नु हुन्थ्यो, १/२ दिनमा हेर्दा बीउ अलि अलि टुसाएको हुन्थ्यो अनि त्यही बीउ लेर बा ले ब्याडमा छर्नु हुन्थ्यो। मैले जिन्दगीको धेरै पछि आएर थाहा पाए कि यसलाइ प्राइमिङ भनिदो रहेछ तर पनि यसको विधि सानैमा देखेको थिए। सानोमा असारको महिना रोपाइ गर्दा होस वा मकै छर्ने बेला म प्राय बा'सङै खेतमा जान्थे। 
खेतमा खासै काम गर्ने त होइन म तर पनि माटोसङ हिलो सङ खेल्न मज्जा लाग्थ्यो। बा'ले खेतको आलि लगाउदै गर्दा म छुट्टै सानो जमिनमा आलि लगाएर पातीको मुन्टा टिपेर रोपाइ गरिरहेको हुन्थे। कैले काहीँ कुनै कुनै मुन्टाहरु जागेका हुन्थे मैले Soft wood cutting त्यसरी सिकेको थिए। खेत रोप्ने दिनमा मेरो जिम्मा प्राय कि त गोरु लिएर खेतमा बिहानै जाने वा दिउसोको ३ बजे तिर खेतालाको लागि अर्नि(खाजा) लिएर जाने हुन्थ्यो। 
खेतमा बुबाले हिल्याउने काम गर्नु हुन्थ्यो मैले चाहिँ कतै पानीको कुलो भाचियो भने कुलो ढल्काउन जाने वा सानो सानो आलि लगाउने, रोप्नेरीलाई बिउ पुर्याउने वा पिउने पानी बोक्ने काम हुन्थ्यो। खेत रोपाइ अलि ढिलो अगाडि बढ्यो भने कैले काहीँ बा आफै रोप्न सकिनु हुन्थ्यो, बुबा ले यति छिटो धान रोप्नु हुन्थ्यो कि उस्तै रोप्ने महिलाहरु चकित खान्थे। मकै छर्ने बेलामा बुबा अगाडि जोत्नु हुन्थ्यो म त्यही जोतेको रेखामा पछि पछि एउटा एउटा दाना मकै खसालेर हिड्थे। मेरा उमेरका प्राय साथिहरु त्यो उमेरमा गोरु जोत्ने भैसकेका थिए तर खोइ किन हो मैले सक्दिन थिए तर मकै छरेर सके पछि भने पाटो सम्याउनु पर्थ्यो त्यो बेलामा लिर्को माथी बस्न खुब मज्जा आउथ्यो। 
आज बा आमा देखि यति धेरै टाढा बसेर यी सब कुरा लेखिरहेको छु, हलो जोत्ने, खेत रोप्ने मेरा बा आमा त्यही गाउँमा हुनुहुन्छ। आमाले सानोमा मैले खेतमा जान्छु भनेर जिद्दी गर्दा भन्नू हुन्थ्यो 'ठूलो भएर खेतमा काम गर्न सक्ने हुदा टाढा टाढा भाग्छ्स होला ऐले खेत जान्छु भनेर धेरै ढिपी नगर त' आजकल मैले हरेक असारमा हिमाल्य खेत देख्दा आमाको त्यो वचन समझन्छु, म आफूलाई एकदमै शक्तिहिन महसुस गर्छु। 
मान्छे कम्जोर कति बेला हुन्छ, उ गरिब भएर एक पैसा नहुदा पनि होइन, उ रोगले थलिएर उठ्नै नसक्दा पनि होइन, उ भोको पेट्मा रातभर छ्टपटिदा पनि होइन, मान्छे तब कम्जोर हुन्छ जब उसलाई थाहा छ कि उसका बा आमालाई तिमि चाहिएको छ र चाहेर पनि तिमी सङै हुन सक्दैनौ। बा'ले काठको काम पनि गर्नु हुन्छ। 
कुनै बेलाको वरिपरिको चार गाउँमा सब भन्दा राम्रो काठको काम मेरो बा ले गर्नु हुन्थ्यो। बा ले ढोका, झ्याल, टेबल, खाट बनाइरहदा त्यहाँ बाट बचेको काठको म गाडी बनाएर खेल्थे। त्यो बेला मैले गाडी भनेको किताबमा मात्र देखेको थिए त्यो पनि चार क्लासबाट वल्ल अङ्ग्रेजी पढाइ हुन्थ्यो सरसङ बर्णमालाको एउटा किताब थियो, सरले बि फर 'बस' भनेत पढाउने बेला ' इ हेर यस्तो हुन्छ बस' भनेर चित्र देखाउनु भएको थियो। हाम्रो लागि बस देख्नु त सपना थियो। 
स्याउलाको भारी बोकेर पैसा कमाउन भारत जाने कतिपय गाउँ का अङ्कलहरुले बसको किस्सा सुनाउथे। हामी खुब चाख दिएर सुन्थेउ पनि। हामी ५ क्लासमा पढदा एकजना साथी आफ्नो बा'सङ भारत गएर आयो, उसले बस पनि चढ्यो। ऊ स्कुल आए पछि करिब एक महिना जति १ बजे पछि हामी उसलाइ घेरेर चौरमा बसि भारत र बसको किस्सा सुन्न थालेउ। उसले उताबाट आउदा एउटा रङिन प्रीन्ट भाको अङ्ग्रेजी स्कुलको किताब लेराको रैछ। त्यसमा बस, साइकल, मोटरसाइकल, हवाइजहाज सबैको फोटो थियो, मलाइ त्यो किताब प्रती यती मोह लाग्यो कि मैले मामाघरबाट फर्किदा कान्छो मामाले दिएको एक रुप्पेमा त्यो किताब किनेको थिए।
अत, म भन्दै थिए। एकदिन बा सङ जिद्दी गरेर एउटा काठको चर्खाको पाङ्रो बनाउन लगाएर, अनि त्यसमा बिचको प्वालबाट एउटा लौरी हालेर दुइबटा बासको पोल काटेर त्यसको बिचमा त्यो पाङ्रो जोडेर हामी साथिहरुले गाउमा पहिलो गाडिको निर्माण गर्यौ। त्यस पछि अरु पनि १/२ जना साथिहरुले त्यस्तै प्रकारको गाडी बनाए तर गाउँको रोडमा ढुङ्गा धेरै हुने हुनाले गाडी चलाउन गार्‍हो पर्यो। त्यस पछि सुरु भए हाम्रो रोड निर्माण कार्यक्रम हामिले चौतारो देखि न्याउलिपतल सम्म करिब ३/४ समय मिटर बाटोको ढुङ्गा साइड लाएर गाडी चल्न मिल्ने सम्म बनाइयो।
गाउँमा पानीको समस्या थियो, गाउभरिबाट पानी लिन जाने भनेकै त्यही न्याउलिपातल थियो, हरेक साझ हामिहरु ग्यालन गाडिमा झुन्ड्याएर ३-४ खेप पानी ओसार पसार गर्थ्यौ। मैले जिन्दगीको इन्जिनियरिङ त्यहाबाट सिकेको हु।


कुन चै मुड चलेर हो मैले यति लेखेको थिए, अनि खोइ यो भन्दा अगाडि लेख्न मन लागेन वा मेरो मुड के भयो। फेरि कुनै दिन मुड चलेछ भने फेरि लेखौला मेरो जिन्दगी। अहिलेलाई
ईति

4 comments:

म भुलि जाने याद जस्तो, म कस्तुरीको सुवास जस्तो। डुल्दै डुल्दै म हराएको वाटो जस्तो म चिप्लो रातो माटो जस्तो। म भुलि जाने याद जस्तो, म अभागिको...